Published using Google Docs
Access Guide_Unicoe_Nepali_Large_Print.docx
Updated automatically every 5 minutes

मन्डला थिएटर भ्रमण सहजीकरणका लागि हाते पुस्तिका

तपाईंलाई मन्डला नाटकघरमा हार्दिक स्वागत छ । आउनुहोस् केही बेर हामी सँगसँगै मन्डला नाटकघर घुमौं ।

सहजताका लागि वेभसाईट र ईमेल

थिएटर फेस्टिभल भरी हुने नाटक तथा अन्य कार्यक्रमको जानकारीको लागि तपाईले हामीलाई access@nitfest.org मा ईमेल गर्न सक्नुहुनेछ ।

नाट्य महोत्सव भरी अपाङ्गता भएका व्यक्तिहरु लक्षित पहुँचयुक्तताका बारे जानकारीका तपाईले https://nitfest.org/accessibility  बाट पाउन सक्नुहुनेछ ।

अब मन्डला थिएटरमा तपाईको भ्रमणको लागि तयारी गरौ

तपाईले यो जानकारी आफ्नो प्रयोजनको लागि अधिकतम प्रयोग गर्न सक्नुहुनेछ । यसमार्फत तपाईले मन्डला थिएटरको परिसरबारे जानकारी प्राप्त गर्न सक्नुहुनेछ । यो हातेपुस्तिकामा तपाईले मन्डला थिएटर परिसरमा रहेका भवनहरु र तपाई जानुपर्ने ठाँउहरुबारे जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।  

मन्डला थिएटरसम्म जाने बाटोको जानकारी बारेमा

सबैभन्दा पहिला तपाईको जानकारीका लागि हामी अहिले अनामनगरबाट बानेश्वर नजिकैको थापागाँउ सरेका छौ । अहिलेको मन्डला थिएटर बानेश्वर व्यांक्वेटदेखि २०० मिटर उत्तरमा रहेको लाखेचौर मार्ग, थापागाँउ, बानेश्वरमा पर्दछ ।

यदि तपाई यातायातको प्रयोग गरी मन्डला थिएटर आउन चाहनुहुन्छ भने निम्न जानकारीको प्रयोग गर्नुहुन हामी अनुरोध गर्दछौ ।

दुवै सार्वजनिक यातायातको प्रयोग गर्दा तपाई थापागाँउ अवस्थित बानेश्वर व्यांक्वेटछेउ ओर्लनुपर्नेछ । तपाईले त्यहाँ आसपास मन्डला थिएटर जाने बाटो देखाईएको एउटा बोर्ड देख्नुहुनेछ । छेउछाउका पसल तथा रेस्टुरेन्टमा सोध्नुभयो भने पनि तपाईलाई मन्डला थिएटरसम्म आउने बाटो उनीहरुले देखाईदिनेछन् । मन्डला थिएटरसम्म आईपुग्ने नक्सा तपाईले गुगल म्यापमा पनि भेट्न सक्नुहुनेछ ।

तपाई मन्डला थिएटर आउनको लागि आफ्नै सवारी साधन तथा अन्य सवारी साधनका विकल्पहरु जस्तै, ट्याक्सी, पठाओ, टुटल, ईन ड्राईभर लगायत प्रयोग गरेर पनि आउन सक्नुहुनेछ ।

सहजीकरणका लागि स्वयंसेवकहरु

मन्डला थिएटर परिसरबारे

मन्डला थिएटर हाल करिब २ रोपनी जग्गामा फैलिएको छ ।

मन्डला थिएटर परिसरमा:

तपाईले क्याफेटेरिया मा बेकरी आईटम, कफी तथा चिया पाउन सक्नुहुनेछ । आर्टिस्ट क्याफेले एकपटकमा ५० जना पाहुनाहरुलाई सेवा प्रदान गर्न सक्छ । अचेल मौसम चिसो छ । तपाईले आर्टिस्ट क्याफेबाट आफ्नोलागि तातो कफी र मसला चियाको सेवा लिन सक्नुहुनेछ । क्याफेटेरिया छेउमा केही किताब, तथा मासिक पत्रिकाहरु समेत रहेका छन्, जुन तपाईसँग कफी टेवलमा तपाईको साथी बन्न आतुर छन् ।

क्याफेको छेउमा रहेको (पुरानो टिकट काउन्टर) हालको लागि भने कोशेली घरको रुपमा प्रयोग गरिएको छ जहाँबाट तपाईले किताब र हस्तकलाका सामानहरु उपहार स्वरुप किनेर लिएर जान सक्नुहुनेछ ।

 मन्डला थिएटर हल

क्याफेटेरियाको पूर्वपट्टि र कोशेली घरको छेउमा तपाईको लागि विश्राम स्थल छ जहाँबाट तपाई मन्डला थिएटर हलमा जान सक्नुहुन्छ । यो ब्लाक बक्स थिएटर प्रायजसो नाटक प्रदर्शनका लागि प्रयोग गरिन्छ र यस हलमा एकैपटकमा १८० जनाले सेवा लिन सक्नेछन् । मंचको ठीक पछाडी रहेको दुईवटा ग्रीनरुमहरु,  जसमध्य एउटा पुरुष ग्रीनरुम र अर्को चै महिला ग्रीनरुमको रुपमा प्रयोग गरिएको छ । मन्डला हलमा जाने माथिल्लो ढोकाको छेवैमा एउटा सानो स्टिलको भर्यांग छ जसको प्रयोग गरेर प्राविधिक कोठासम्म पुग्न सकिन्छ ।

ह्विलचेयर प्रयोगकर्ताहरुले पनि मन्डला थिएटर हल प्रयोग गर्न सक्नेछन् । ह्विलचेयर प्रयोगकर्ताहरु मन्डला थिएटर हलसम्म पुग्नका लागि सोसियल स्पेशको बाटो हुदै जान सक्नेछन् ।

मन्डला स्टुडियो

मन्डला थिएटर हलभन्दा सानो मन्डला स्टुडियो पनि एउटा ब्लाक बक्स थिएटर हल हो जुन भुईतल्लाबाटै पुग्न सकिन्छ । मन्डलाको कार्यालय भवनको वाँयापट्टि र सोसल स्पेश ( जुन पहिला मोटरसाईकल पार्किंगको लागि प्रयोग गरिन्थ्यो) को दाँयापट्टिको सानो गल्लीको प्रयोग गर्दै मन्डला स्टुडियो पुग्न सकिन्छ । मन्डला स्टुडियोले एकपटक मा ६० जना दर्शकहरुलाई सेवा प्रदान गर्न सक्छ । तर कुशन र कार्पेटको प्रयोग गरिएको खण्डमा भने एकपटकमा ८० जना दर्शकहरुले यो हलबाट सेवा लिन सक्नेछन् । मन्डला स्टुडियो ग्रीनरुम भने मन्चको ठीक माथिपट्टि रहेको छ, जुन ब्याकस्टेजमा रहेको भर्यांगको प्रयोग गरेर पुग्न सकिन्छ । ह्विलचेयर प्रयोगकर्ताहरुले पनि मन्डला स्टुडियोमा सहजपूर्वक नाटक हेर्न सक्नेछन् ।  

टिकट जाँच गर्ने स्थानको बारे

तपाईले टिकट काउन्टरबाट आफ्नो टिकट लिईसकेपछि, नाटक हेर्नुअगाडी नै तपाई नाटक हलमा छिर्नेबेलामा नाटकघरको ढोका देखाउन सक्नुहुनेछ । हलको ढोकामा रहेका हाम्रा स्वयंसेवक साथीहरुले तपाईको टिकट जाँच गरेर तपाईलाई नाटक हलभित्र जाने बाटो देखाउनेछन् ।

महोत्सवभर टिकटमा पाईने छुट बारे

अपाङ्गता भएका दर्शकहरुका लागि हामीले विभिन्न प्रदर्शनहरुमा जम्मा १०० वटा टिकटमा छुट उपलब्ध गराएका छौ । तपाईले आफ्नो अपाङ्गता बारे जानकारी दिईएको परिचय पत्र टिकट लिने बेलामा टिकट काउन्टरमा देखाउनुभयो भने तपाईले आफ्नो छुट दावी गर्न सक्नुहुनेछ ।  

मुखुन्डो बारः

क्याफेटेरिया काउन्टरको ठीक अगाडी, दक्षिणतिर रहेको स्टिलको भर्यांगको बाटो प्रयोग गर्दै तपाई आफ्नो भोक मेटाउनका लागि मुखुन्डो बार पुग्न सक्नुहुनेछ । यो रेस्टुरेन्टले एकपटकमा बढीमा ५० जना पाहुनाहरुका लागी मीठो र स्वस्थ्य खानाका साथ सेवा प्रदान गर्न सक्दछ । मुखुन्डो बारमा रहेको काउन्टरको अगाडी छु्ट्टाछुट्टै ३ वटा शौचालयहरु रहेका छन् ।

क्याफेटेरिया र रेस्टुरेन्ट क्रमशः पहिलो र दोश्रो तल्लामा रहेका कारण ह्विलचेयर प्रयोगकर्ताहरुका लागि भने त्यहाँसम्म पुग्ने सहज उपाय छैन । यसबाट पर्न गएको असुविधा प्रति मन्डला थिएटर तपाईसमक्ष माफी माग्न चाहन्छ । यद्यपी तपाईको लागि आवश्यक पेय पदार्थ तथा खाजाहरु तपाईको माग अनुसार तपाईलाई सोसियल स्पेशमै ल्याईदिन सकिने जानकारी समेत गराईन्छ ।

पार्किंगः

सामान्यतया, मन्डला परिसरमा तपाईको कार र मोटरसाईकल पार्किंगको लागि आवश्यक पर्याप्त स्थान रहेको छ । तर केही ठूला कार्यक्रम जस्तो कि अहिलेको अन्तराष्ट्रिय नाट्य महोत्सवको समयमा, मन्डला थिएटरले नजिकैको स्थानहरुमा पार्किंगको व्यवस्था मिलाएको छ । तपाईले पार्किंगको लागि मन्डला थिएटर नजिकैको पाठशाला स्कूलको पार्किंग स्थलमा आफ्नो सवारीसाधन राख्न सक्नुहुनेछ ।

पाठशाला स्कूलको पार्किंग स्थान मन्डला थिएटरको मुख्य प्रवेश स्थानबाट दायाँपट्टि करिव ५० मिटरको दुरीमा रहेको जानकारी गराउँदछौ ।

मन्डला थिएटरको भ्रमण पश्चात

हाम्रो चाहना नै हाम्रा सम्पूर्ण पाहुना दर्शकहरुका लागि पहुँचयोग्य वातावरणको निर्माण गराउदै मन्डला थिएटरको भ्रमण सम्पूर्ण तरिकाबाट सहजयोग्य महसुस गराउनु हो । यदि हामीबाट केही कमी कमजोरी भएको खण्डमा त्यो जानाजान नभई, हाम्रो अज्ञानताबस् त्यसो भएको बुझिदिनुहोला । तपाईलाई पर्न गएको सम्पूर्ण अप्ठ्यारोको लागि मन्डला थिएटर ह्रृदयदेखि माफी माग्न चाहन्छ । 

मन्डला थिएटर भ्रमण पश्चात हामी तपाईको अनुभव सुन्नका लागि व्यग्रताका साथ पर्खामा हुनेछौ । तपाईको अनुभवले हामीलाई आफ्ना कमजोरीहरु सुधार्नको लागि प्रेरित गर्नेछ । तपाईले आफ्नो महत्वपूर्ण सल्लाह तथा सुझाव सिधै हाम्रा स्वयंसेवक साथीहरुलाई बताउन सक्नुहुनेछ वा हामीलाई info@mandalatheatre.com  मा ईमेल पनि गर्न सक्नुहुनेछ ।

मन्डला थिएटर भ्रमण गर्नुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद । हामीलाई आशा छ, तपाईको भ्रमण सुखद रह्यो । हामीलाई आगामी दिनहरुमा पनि अवस्य सेवा गर्ने मौका प्रदान गर्नुहोला । धन्यवाद ।