Published using Google Docs
श्री जालपादेवी ज्वालामुखी योगिनी, जालन्धर पीठ पिशाचेश्वर महादेव
Updated automatically every 5 minutes

श्री जालपादेवी ज्वालामुखी योगिनी, जालन्धर पीठ पिशाचेश्वर महादेव

पृष्ठभूमी

  विभिन्न कालखण्डमा विभिन्न नामले परिचित हुँदै हाल कीर्तिपुर नगरपालिका वडा नं. ६, चारघरेमा अवस्थित श्री जालपादेवी मन्दिर प्राचिन काल देखि नै एउटा प्रमुख धार्मिक स्थलको रुपमा सुपरिचित छ । हिन्दु ग्रन्थहरुमा वर्णन भए अनुसार सतीदेबीले आफ्ना स्वामीको अपमान गरेको भन्दै आफ्नै पिता दक्षप्रजापतीद्वारा आयोजित यज्ञकुण्डमा फालहाली आत्मदाह गरेपछि विभल भई महादेवले सतीदेवीको मृत शरिर बोकी ताण्डब गर्दै विभिन्न स्थानहरुमा पुगेका थिए । महादेवको ताण्डब बाट सवै देवी देवता त्रसित भई भगवान विष्णुलाई महादेवलाई शान्त पारिदिनु प¥यो भनि विन्ति विसाएपछि विष्णु भगवानले सतीदेवीको अंगहरु पतन गराउनु भएको थियो । जहाँ जहाँ सतीदेवीको अंग, सतीले धारण गरेको बस्त्र तथा आभूषण पतन भयो त्यही स्थानलाई शक्तिपीठको रुपमा बर्णन गरिएको पाइन्छ । स्कन्द पुराणको माघमहात्मेमा उल्लेख भए बमोजिम त्यस्ता शक्तिपीठहरु साढे सात करोड रहेका छन् । त्यसमध्ये सतीदेबीको तल्लो ओठ यस स्थानमा पतन भएको वर्णन गरिएको छ ।

            स्कन्दपुराणको माघमाहात्मेमा साडे सात करोड शक्ति पीठ उल्लेख भएपनि ५१ शक्तिपीठको मात्र व्याख्या गरेको पाइन्छ । ती उल्लेखित पीठहरु हाल नेपाल, भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान र तिब्बतमा रहेको पाइन्छ । यस्ता शक्तिपीठको दर्शन गरेमा मनोकामना पुरा हुने विश्वास गरिन्छ । यति मात्र नभई कुनै एक पीठको मात्र दर्शन र पुजा गरेमा पुण्य प्राप्त हुने र पुरै शक्ति पीठको दर्शन गरेमा जीवन पूर्ण रुपमा सफल हुने विश्वास छ ।

            विभिन्न ग्रन्थहमा शक्तिपीठको संख्या फरक फरक रहेको पाइन्छ । शिव चरित्र अनुसार सती शक्तिपीठको संख्या ५१ रहेको छ भने कालिका पुराणअनुसार शक्ति पीठ २६ रहेको बर्णन गरिएको छ । श्री देवी भागबत पुराणको अनुसार सती शक्तिपीठको संख्या १०८ छन भने तंन्त्र चुडामणि तथा मार्कण्डेय पुराणको अनुसार सती शक्तिपीठको संख्या ५२ रहेको बर्णन गरिएको छ । यसैगरी देवी गिता अनुसार सती शक्तिपीठको संख्या ७२ भनि उल्लेख गरेको पाइन्छ । यद्दपि, सती शक्ति पीठको संख्या पुराण अनुसार फरक फरक भएपनि मुख्यत ५१ शक्ति पीठ नाम अनुसार प्रसिद्ध छन् । जसमध्ये जालन्धर पीठ जालपादेवी मन्दिर पनि एक हो ।

            स्कन्द पुराणमा उल्लेख भएअनुसार यस स्थानको प्राचीन नाम अनन्तपुर रहेको पाइन्छ । हालको ललितपुर जिल्लामा रहेको सिद्धिपुर (हरिसिद्धि) सहर यही जालपादेवी मन्दिर क्षेत्र वरपर रहेको किम्बदन्ती पाइन्छ । प्राचीन कालमा ठूलो सहर÷वस्ती रहेको कुरा विभिन्न समयमा भवन निर्माण गर्दा भेटिएका पुरातात्विक सामानहरुले समेत पुष्टि गर्दछ ।

स्कन्द पुराणको माघ महात्मेमा उल्लेख भएको शक्तिपीठहरुको वर्णनमा सतीदेवीको तल्लो ओठ पतन भई पिशाचेश्वर महादेव उत्पत्ती भएका र शक्तिस्वरुपा श्री जालपादेवी ज्वालामुखी योगिनी उत्पत्ती भई तपस्या गरेको पुण्य भूमी उल्लेख गरेको पाइन्छ । कामधेनु गाईले यहाँ आई तपस्या गरी मलमुत्र शुद्ध हुने बरदान पाएको पनि कथामा उल्लेख गरेको पाइन्छ । कुमारीको पुजारी बन्नलाई सातदेवीको तन्त्र सिद्धि गर्नुपर्ने हुन्छ उक्त सात देवी मध्ये जालपादेवी पनि एक रहेको छ । प्रत्येक १२ वर्षमा तान्त्रिक पुजा गर्न हरिसिद्धिबाट ठूलो संख्यामा दर्शनार्थीको मेला लाग्ने गर्दछ ।

 

मन्दिरको परिचय

  झण्डै ५ रोपनी क्षेत्रफलमा रहेको सार्वजनिक जमिनमा अवस्थित मन्दिरको लम्बाई १५ फिट र चौडाई १४ फिट ३ इन्च रहेको छ । मन्दिरको पश्चिमको भागमा ८ फिट, पूर्व, उत्तर र दक्षिण भागमा ३ फिट ६ इन्च उचाईको पर्खाल लगाइएको छ भने तीन तर्फ पर्खाल माथि फलामको ग्रील राखिएको छ । मन्दिरको चारै कुनाबाट पोल राखी बीच भागमा चदुवा राख्ने तथा मन्दिरको चारैतिर वरीपरी झल्लर राख्ने गरिएको छ । मन्दिरको भित्ताहरु ढुंगा तथा माटोले बनेको भएपनि भित्ताहरु विभिन्न समयमा दाताहरुले आई सिमेन्ट तथा सेतो टायलले ढाकिएको छ ।

            लिच्छवि कालिन देवी देवताको मुर्ति भएको यस मन्दिरमा स्थानीय जेष्ठ नागरिकहरुको कथन अनुसार राजा नरेन्द्र देव मल्लले यो मन्दिरको जिर्णोद्धार गरेको बुझिन्छ । हालको मन्दिर करीव २० मिटर मुनी रहेको र वि.सं. २०३४ को वर्षा याममा गएको पहिरोले मन्दिर पुरै ध्वस्त भएको थियो र स्थानीयको पहलमा नै मन्दिर माथि सारिएको बुझिएको छ । मन्दिरमा हरेक दिन श्रद्धालु भक्तजन दर्शन गर्न आउने गरेपनि वडा दशैको नौरथा भरी तथा पौष शुक्ल पुर्णिमा देखि माघ शुक्ल पुर्णिमा सम्म ठूलो मेला लाग्ने गर्दछ । गत २०७२ वैशाख १२ गते आएको महाभूकम्प पछि मन्दिरको मुख्य भाग भाँसिएको र पर्खालहरु चर्किएको भएतापनि अहिले सम्म कुनै जिर्णोद्धारको कार्य भएको छैन । यद्धपी बृहत चारघरे धार्मिक समितिले यसको जिर्णोद्धारको प्रयास जारी राखेको छ ।